सर्लाही : लालबन्दी नगरपालिका-२ नवलपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 

बागवानी जंगलबाट घाँस लिएर साइकलमा घर फर्कँदै गरेका उक्त वडा (जुटपानी) का ४० वर्षीय रामललित महतोको घटनास्थलमै मृत्यु भएको हो। ​आज दिउँसो नवलपुर चोकबाट पूर्वतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत करिब २०० मिटर पर बागवानी क्षेत्रमा ना.७ ख.८२९३ नम्बरको टिपरले साइकललाई ठक्कर दिएको हो।

नवलपुर चोक भन्दा करिब २०० मिटर बागवानीपट्टि ठक्कर दिएको छ। प्रहरीले टिपर नियन्त्रणमा लिएको छ। चालक फरार भएका छन्। 

दुर्घटनापछि आक्रोशित स्थानीय र आफन्तले राजमार्ग अवरुद्ध पारेका छन्। त्यहाँ अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीसँग स्थानीयको झडपसमेत भएको थियो। उक्त क्रममा प्रहरीले भीड नियन्त्रण गर्न केही थान अश्रुग्यास पनि प्रहार गरेको थियो। 

अहिले त्यहाँ व्यापक मात्रामा प्रहरी परिचालन गरिएको र स्थितिलाई सामान्य अवस्थामा ल्याउन प्रहरीले प्रयास जारी राखेको छ।

अहिले अवस्था सामान्य भए पनि आफन्तले सडक अवरुद्ध गरेर नाराबाजी गरेका छन्। पीडित आफन्त तथा स्थानीयले चालकलाई पक्राउ गरी उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्। आक्रोशित स्थानीयको भीडले टिपरमा क्षति पुर्‍याएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here