महोत्तरी : भदौको तृतीयादेखि महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा झुलनोत्सव पर्वको रौनक देखिएको छ।

महोत्तरीको मटिहानी नगरपालिका–७ मा अवस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागत रूपमा बर्सेनि मनाइँदै आएको पौराणिक झुलनोत्सव पर्व शुरूवात भएसँगै सम्पूर्ण मिथिलाञ्चलमा रौनक देखिन शुरू भएको मटिहानीका स्थानीय बासिन्दा शंकर मण्डलले बताए।

आउँदो पूर्णिमासम्म मनाइने झुलनोत्सवका अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट प्रत्येक दिन कलात्मक पालकीमा  बाजागाजाका साथ भगवान रामसीताको मूर्ति राखी भजनकीर्तन गर्दै झुलाघरमा लगिने गरिन्छ। महोत्तरीको लक्ष्मीनारायण मठ, जनकपुरधाम, सर्लाही, सिराहा,  सप्तरी र भारतको तिरहुत क्षेत्र विहारका विभिन्न मठ मन्दिरमा झुला पर्व धुमधामका साथ मनाइने परम्परा छ।

झुला घरमा रामसीताको मूर्ति राखी धार्मिक गीत र भजनकीर्तनका साथ राति अबेरसम्म झुला झुलाउने गरिएको लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्थ जगन्ननाथ दास वैष्ण्वले बताए। भगवान रामसीता साउन महिनामा यसैगरी झुला झुलेको सम्झना गर्दै झुलनोत्सव मनाइने गरिन्छ।

सो अवसरमा मटिहानीमा मेलाको समेत आयोजना गरिएको छ। मेला हेर्न र भगवान रामसीताको भुलनोत्सवमा सहभागी हुन नेपाल भारतका श्रद्धालुको भिड लाग्ने गर्दछ। सांस्कृतिक परम्पराका रूपमा मनाइने यो पर्वमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामलीला लक्ष्मीनारायणलगायतका मूर्ति बाजागाजाका साथ झुलाउने परम्परा छ।

मिथिला क्षेत्रमा रोपाइँ सकिने बित्तिकै झुला पर्वको रौनक शुरू हुन्छ। प्रत्येक मठ मन्दिरमा कजरी र मलार जस्ता गीतको स्वरलहरी सुनिन्छ। झुलाका समयमा गाउँघरका र वरपरका श्रद्धालु जम्मा हुने भनजकीर्तन गर्ने नाचगान र रामलीला गरेर मध्यरातसम्म जाग्राम बस्ने चलन छ।

झुला पर्व त्रेतायुगदेखि नै प्रारम्भ भएको मानिन्छ। जोगी सन्यासीले आफ्ना आराध्य खेलाइ झुलाउने परम्परा छ। वृन्दावनमा पनि यो झुला कृष्णलीलाका रूपमा मनाइन्छ। मटिहानीमा झुला पर्वको आकर्षणका लागि यसपाली त्यहाँ सर्वसाधारण बालबालिकालाई पनि झुलाको आनन्द लिन मेसिनमा चल्ने झुलाका साथै ठूलो मेलाको आयोजना गरिएको छ। 

महोत्तरीको मटिहानीसहित तराई–मधेशका अधिकांश जिल्लामा झुलनोत्सव पर्व मनाइने चलन छ भने भारत बिहारको सीतामढी, मधुबनी, मुजफ्फरपुर, दरभङ्गा र पटनासम्म यस पर्वको रौनक छाएको छ।रासस

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here