तालिबान लडाकुहरूले अफगानिस्तानका महत्त्वपूर्ण सहरहरू आफ्नो नियन्त्रणमा लिएपछि त्यहाँ भएका नेपाली नागरिकहरूलाई नेपाल सरकारले आफ्नो सम्पर्कमा आउन आग्रह गरेको छ।

तालिबान लडाकुहरू आइतवार काबुलको बाहिरी क्षेत्रमा प्रवेश गरेका छन्। त्यहाँको गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको जनाएको छ।

यसैबीच अफगान राष्ट्रपति अशरफ गनीले देश छोडेका विवरणहरू प्रकाशित भएका छन्। केही सातादेखि देशका अन्य भागमा हिंसा फैलिँदा भागेका हजारौँ अफगानहरूले काबुलमा शरण लिइराखेका छन्।

तालिबान काबुल आइपुगेपछि आइतवार धेरै मानिसले पैसा निकाल्न र यात्रासम्बन्धी कागजपत्र जुटाउन दौडधुप गरेका छन्।

यसअघि अफगानिस्तानबाट केही दिनयता भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासको सम्पर्कमा आएका नेपाली नागरिकहरूले धेरैजसो रोजगारदाताले अगस्ट महिनाभित्रै स्वदेश फर्किन भनिसकेको र कतिपयले फर्किने टिकट समेत काटिसकेको जानकारी नेपाली अधिकारीलाई दिएका थिए।

आइतवार साँझ काठमाण्डूस्थित परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अफगानिस्तानमा रहेका नेपाली नागरिकहरूको विवरण सङ्कलन गर्न कन्सुलर सेवा विभागको वेबसाइट  https://nepalconsular.gov.np/ मा व्यवस्था गरिएको उल्लेख गरिएको छ।

उक्त पोर्टलमा नामसहित उल्लेख गर्नुपर्ने विवरण तत्काल भरी दर्ता गराउनुहुन सम्बन्धित व्यक्ति वा परिवारका सदस्यलाई मन्त्रालयले आग्रह गरेको छ।

त्यस्तै उद्धारसँग सम्बन्धित सम्पर्कको लागि भाइबर र ह्वाट्सएपबाट पनि सुविधा दिने बताइएको छ।

त्यस्तो सेवा प्राप्त गर्नका लागि कन्सुलर सेवा विभागको मोबाइल नम्बर+977-9749326458 र +977-9749326459 को व्यवस्था गरिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here