सर्लाही : अनियमित विद्युत् कटौतीले सर्लाहीका उद्योगधन्दा धराशायी बन्दै गएका छन्। अनियमित विद्युत् कटौती हुँदा बिजुलीबाट सञ्चालन हुने काम बारम्बार प्रभावित बनेको उद्योगी व्यवसायीहरुको गुनासो गरेका छन्। केही समयदेखि पटक-पटक विद्युत् कटौती हुने समस्या बढेको छ।

अनियमित विद्युत् कटौतीले प्रेस, कुटानपिसानी मिल, खाद्य उद्योगसहित २४ सैं घण्टा विद्युत् आवश्यक पर्ने उद्योगहरु बढी प्रभावित भएका छन्। विद्युत् अनियमित हुँदा कुनै दिन दिनभर नै उद्योगधन्दा ठप्प हुने गरेको उद्योगीहरुले बताउँदै आइरहेका छन्।

सर्लाही सदरमुकाम मलंगवास्थित एक प्लाइ उद्योगका सञ्चालक गजेन्द्र साह विद्युत अनियमित हुँदा उत्पादन लागत बढेको बताउँछन्। ‘विद्युतले त हैरान नै पारेको छ, मेसिन चलिरहेका बेला बारम्बार बत्ती कटौती हुन्छ,’ साहले भने, ‘विद्युत् अनियमितका कारण बढी समयसम्म कामदार खटाउनु परेको छ। आम्दानीभन्दा खर्च बढी भइरहेको छ। मेसिन पनि स्थिर रुपमा चल्न पाइरहेको छैन्।’

मलंगवासहित हरिवन, लालबन्दी, बरहथवालगायत प्रमुख व्यापारिक केन्द्रहरुमा रहेका उद्योगधन्दा मारमा परेका छन्। उद्योग वाणिज्य संघ लालबन्दीले अनियमित विद्युत कटौतीले उद्योगी व्यापारी मारमा परेको भन्दै केही दिनअघि नेपाल विद्युत् प्राधिकरण लालबन्दीमा ज्ञापनपत्र समेत बुझाउँदै ध्यानाकर्षण गराएको थियो।

संघका अध्यक्ष कल्याण कुमार जोशीले बिजुलीको समस्याले लालबन्दी बजारका धरै उद्योग घण्टौं ठप्प हुने समस्या बढेको बताए। ‘बारम्बार विद्युत् अवरुद्ध हुने र भोल्टेज नआउने समस्याले बिजुलीबाट हुने धेरै काम ठप्प हुँदै आएका छन्,’ जोशीले भने, ‘हामीले ज्ञापनपत्र बुझाएपछि पनि बिजुलीको समस्या समाधान भएको छैन।’

यता, नेपाल विुद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रका इन्जिनियर संयोग विश्वकर्माले नवलपुरमा निर्माणाधीन ग्रिड सबस्टेशनको निर्माण पूरा भई सञ्चालन नहुन्जेल सर्लाहीको विद्युतमा यस्तै समस्या आउने बताए। उनले विद्युतका पुराना संरचनाले बढ्दो लोड थेग्न नसक्ने र पटक–पटक बत्ती जाने समस्या आइरहेको बताए। इन्जिनियर विश्वकर्माले अहिले गर्मीयाममा लोड धेरै हुने भएकाले बिजुली अनियमित भएको बताए।

सर्लाहीमा अहिले रौतहटको चन्द्रनिगाहपुरबाट ल्याइएको १३२/३३ केभी प्रशारणलाइन लालबन्दी, बरहथवा र मलंगवामा रहेको वितरण केन्द्रमार्फत वितरण हुँदै आइरहेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here