सर्लाही : ६ वर्षको उमेरमा बालिकाको विवाह भएको कुरा सुन्दा अचेल कहानीजस्तै लाग्छ।

सुनाउँदा कसैलाई पत्यार लाग्दैन। तर, यो सत्य र यथार्थ हो।

बालिकाको विवाह भयो त्यो पनि ९० वर्ष उमेरका वृद्धसँग। एउटा फिल्मी शैलीको जस्तै कथा र व्यथा छ कैलाली धनगढी उपमहानगरपालिका-४, उत्तरबेहडीस्थित शिवपुरी धामको माता कुटीमा बस्दै आएकी राधा गिरीको। 

उनी विगत २० वर्षदेखि शिवपुरी धाममा बस्दै आएकी छिन्। ‘थाहा छैन कहिले हो। १/२ वर्षपछि त उनी मरिहाले। त्यति बेला यहाँ बसेकी हुँ,’ उनले भनिन्।

शिवपुरी धाममा त्यतिबेला एउटा मात्रै सानो मन्दिर रहेको उनी बताउँछिन्। ‘यहाँ त ठुलो घना जंगल थियो। चौधरीहरूले गाईगोरु चराउँथे। माछा मार्थे। घना जंगलबीच रहेको सानो कुटीमा हामी दुईजना बस्थ्यौँ’ उनले भनिन्। आफूहरूलाई यहाँ बत्ती बाल्न पूजापाठ गर्न ल्याइएको उनी बताउँछिन्। 

माता भइसकेपछि उनी दर्जन बढी धाम तथा ठूलाठूला शक्तिपीठमा पुगिसकेकी छिन्। सुदूरपश्चिमका पर्यटकीयस्थल तथा शक्तिपीठ खप्तड र बडिमालिका लगायतका धेरै ठाउँमा उनले तीर्थयात्रा भरिसकेकी छिन्‌। भारतको काशी, प्रयागराज र हरिद्वार लगायत चीनको तिब्बतस्थित कैलाश मानसरोवरसम्म उनले दर्शन गरिसकेकी छिन्‌।

‘गुरुआमाहरू घरमा भिक्षा माग्न आउँथे। धेरैपटक उनीहरूलाई देखियो आफूलाई पनि माता बन्ने इच्छा जागेर आयो। गुरुआमाहरूसँग नै धेरै ठाउँ घुमियो,’ उनले भनिन्।

माता बनेपछि आफू खुसी रहेको उनले बताइन्। उनलाई परिवारसँग बस्न इच्छा त थियो, तर बाल्यकालमै विवाहित बनेकी उनी घर न घाटकी बनेकी थिइन्।

‘बाहुनको छोरी, दोस्रो बिहे गर्नु हुँदैन भन्ने मान्यता थियो। माइतैमा कति बस्नु। एक दुई दिन त राम्रो गर्लान फेरि…’ उनले भनिन्।

यसरी बनिन् माता

उनको जन्मघर डोटी हो। उनी ६ वर्षको हुँदा उनको ९० वर्षीय पुरुषसँग बिहे भएको थियो।

‘छोराबुहारी भएको १०० वर्षजस्तो देखिने बुढोसँग मेरो बिहे भएको रहेछ। बुवा त पहिल्यै बित्नुभएको रे ! आमाले बिहे गरिदिनुभएको रे ! मलाई पनि थाहा छैन। गाउँलेले भन्थे-मेरो बिहे भइसक्यो,’ उनले भनिन्।

‘ती पुरुषको सहारा कोही छैन भनेर आमालाई पैसा दिएर मलाई मागिएको रहेछ। बिहेको दिन सबै गाउँले रोएको रे!’ आफ्नो विगत सम्झिदै उनले भनिन्, ‘बिहे गरेकै अर्को वर्ष त श्रीमान बितेछन्‌।’ 

त्यो समयमा एक व्यक्ति देखाएर अर्को व्यक्तिसँग बिहे गरिदिने गरेको उनी बताउँछिन्। श्रीमान गुमेपछि माइत ल्याइएको उनले बताइन्। अर्को बिहे गर्नु पाप रहेको भन्ने मान्यताले उनी केही वर्ष माइतमै बसिन्।

घरमा धेरै माताहरू भिक्षा माग्न आउने गर्थे। माइत पनि कति धेरै बस्नु भनेर उनीहरूसँगै माता बनेको राधा बताउँछिन्।

धेरै ठाउँ घुमेको स्मरण गर्दै उनी भन्छिन्, ‘उमेर हुँदा, अलि बल हुँदा धेरै ठाउँ गयौँ। त्यति बेला पनि डर हुन्थ्यो एक्लै हिँड्न। ५/६ जना गुरुआमाहरू सँगै हिँड्थ्यौँ।’ आफूसँगैका धेरै साथीहरूको त कुटीमै ज्यान गएको उनी बताउँछन्।

निधनपछि यसरी गरिन्छ माताको दाहसंस्कार

माताको निधन भएपछि माताहरूले नै दाहसंस्कार गर्ने उनले बताइन्। किरिया लगायतका अन्य धर्मकर्म सबै माताहरूले नै गर्ने उनको भनाइ छ।

‘परिवार भएपनि माताले पनि चोखो तरिकाले धर्म गर्ने गर्छन्,’ उनले भनिन्। 

सरकारबाट सहयोग

माताहरू मन्दिरमा निर्माण गरिएका धर्मशाला तथा कुटीहरूमा बस्ने गर्छन्। सरकारबाट एकल महिला भनेर भत्ता पाइरहेको उनले बताइन्।

‘घर बनाइदिने त्यस्तो सहयोग त छैन। एकल महिला भनेर भत्ता पाउँछौँ,’ उनले भनिन्।

मन्दिरबाट दान गरेको रकम र आफूहरूले पाएको भिक्षाको रकमले शिवपुरी धाममा दुइ कोठे भवन बनाइएको छ। अहिले शिवपुरी धाममा तीनजना माताहरू बसिरहेका छन्। 

बिरामी पर्दा निःशुल्क उपचार पाउने वातावरण बनाइदिन सरकारसँग उनीहरूको माग छ। यस्तै टाढाको यात्रा गर्दा गाडी भाडा पनि निःशुल्क गरिदिए सहज हुने राधा बताउँछिन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here