सर्लाही : श्रावण शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमालाई नेवार समुदायले गुन्हुपुन्ही पर्वको रूपमा मनाउँछन्‌। यो पर्वको अवसरमा नेवार समुदायले वर्षा गराउन मद्दत गर्ने र विशेषगरी धानखेतका शत्रु कीरा मारेर धानबालीको संरक्षण गर्ने जीव भ्यागुतोको पूजा गरी भात र क्वाँती खुवाएका छन्‌।

​नेवार समुदायले बिहानै खेतका गरा र पानीको मुहान तथा स्रोतहरूमा समेत पुगेर भ्यागुतोलाई भोजन चढाए। किसानहरूले विभिन्न परिकारका भोजन खुवाएर भ्यागुतोलाई प्राकृतिक देवताका रूपमा पुज्ने गरेका छन्‌।

​किसानहरूले सिमीको पातमा भात, चामल, रोटी, क्वाँटी, मुलाको ऐना र विषेश प्रकारको सुपारी लगायतका खाद्य परिकार राखेर खेत खेतमा गई भ्यागुतोलाई चढाएका थिए। यस्तो परम्परालाई स्थानीय भाषामा ‘व्याँचा जाः नक वानेगु’ भन्ने गरेको संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले बताए।

रोपाइँको समयमा कृषकहरूले आ-आफ्नो खेत खन्दा मरेका कीरा फट्याङ्गग्रा र भ्यागुतोलाई मारेको दोष निवारण गर्न र पाप मोचन गर्न पनि आजका दिन भ्यागुतोलाई पूजा र भोजन गराउने प्रचलन रहेको प्रा. डा. श्रेष्ठले जानकारी दिए। 

‘मानिसको महान गुरुमध्ये भ्यागुतो पनि एक हो । त्यसैले आजको दिन गुरुलाई पुज्ने अवसरको रूपमा लिई नेवार समुदायले धानबारीसम्म गई भ्यागुतो पूजा गरी खाना खुवाउने प्रचलन बसेको हो,’ उनले भने।

आजै नेवार समुदायले कम्तीमा विभिन्न प्रकारका नौ थरी गेडागुडीको मिश्रण क्वाँटी खाएर गुन्हुपुन्ही मनाएका छन्‌। यही प्रचलन नेवार समुदायबाट विस्तार भएर अन्य समुदायमा पनि क्वाँटी खाने प्रचलन चलेको संस्कृतिकर्मीहरूको भनाइ छ। क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भटमास, मकै र बकुल्लालगायत कम्तिमा नौथरी गेडागुडीको मिश्रणबाट बनेको हुन्छ।

रोपाइँ र धान खेत गोडमेलको बेला तथा वर्षातको मौसम भएकाले तातो पोषणयुक्त आहारले शरीरलाई ताजगी बनाउने भएकाले पनि नेवार समुदायमा आहार विज्ञानअनुसार जनै पूर्णिमामा क्वाँटी खाने प्रचलन रहेको प्रा.डा. श्रेष्ठले बताए।

गुन्हुपुन्हीकै अवसरमा नेवार समुदायले पनि खस आर्य समुदायले जस्तै रक्षासुत्र डोरो बाँध्ने बाँधेका छन्‌। नेवार समुदायले भने पञ्चतत्व सहितको डोरो बाँध्ने प्रचलन रहेको छ। जसले भुत, प्रेत, पिशाच र मृत्युको भयबाट जोगाउने विश्वास गरिन्छ।

विषेशतः क्षेत्री बाहुनहरूले लगाउने डोरो र नेवार समुदायले लगाउने डोरो रक्षा गर्नकै निम्ति भएपनि नेवार समुदायमा तान्त्रिक विधिले डोरो तयार गर्ने र वैदिक विधिले बाँध्ने चलन रहेको संस्कृतिविद्‌ओम धौभडेलले बताए।

यसैबीच, जनैपूर्णिमाको अवसरमा भक्तपुरका विभिन्न कुण्डहरूमा मेला लागेको छ। नगरकोटको महादेव पोखरी र भक्तपुरको औद्योगिक क्षेत्रभित्र रहेको प्राचीन धल्चा पुखुः(कालदह), मध्यपुर थिमि-७, नगदेशस्थित विसंतकी तीर्थ (शिलेश्वर) महादेव र थिमिकै विष्णुकुण्डमा बिहानैदेखि स्नान गर्ने भक्तजनहरूको घुइँचो लागेको हो ।

गोसाइँकुण्डको प्रतीक मानिने नगरकोटको महादेव पोखरीमा स्थानीय तामाङ झाँक्रीहरूको विशेष मेला लाग्दछ। लोककथन अनुसार महादेवले कालकुट विष सेवन गरेपछि छटपटिएर गोसाइँकुण्ड जाने क्रममा नगरकोटमा बास बसेको धार्मिक विश्वासको आधारमा आजको दिन सो कुण्डमा मेला लाग्ने गरेको हो।

त्यसैगरी गोसाइँकुण्डकै प्रतीक मानिने भक्तपुरको धल्चा पुखुः (कालदह) मा पनि बिहानैदेखि स्नान गर्नेको भिड लागेको छ। यो दहमा स्नान गरी पोखरी छेउमा रहेको महादेव र दरबारस्क्वायरस्थित शिलु महादेव (फसी देगः) को दर्शन गरे गोसाइँकुण्ड गएसरह पुण्य प्राप्त हुने जनविश्वास छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here