सर्लाही : थारुहट थारुवान राष्ट्रिय मोर्चाले कैलालीमा विरोध प्रदर्शन गरेको छ। टीकापुर घटनाको ६ वर्ष पुगेको दिन आज मोर्चाले कैलालीको बलियामा विरोध प्रदर्शन गरेको हो।

भदौ ७ र ८ गतेलाई कालो दिनको रुपमा मनाउँदै आएको मोर्चाले भल्का चौकदेखि बलिया चौकसम्म विरोध र्‍यालीसहित प्रदर्शन गरेको हो।

टीकापुर मुद्दा खारेजी गरिनुपर्ने, कैलाली निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित निलम्बित सांसद रेशम चौधरीसहित राजबन्दीहरुलाई विना सर्त रिहाइ गरिनुपर्ने, राज्यको हरेक निकायमा थारु समुदायको पूर्ण समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्ने, कञ्चनपुरदेखि नवलपरासीसम्म थरुहट प्रदेश कायम गरिनुपर्ने, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै प्रदर्शन गरिएको हो।

के थियो टीकापुर घटना ?
थरूहटको आन्दोलन चर्किदा २०७२ साल भदौमा भएको विरोध प्रदर्शन हिंसात्मक बनेपछि भिडले आक्रमण गरेर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मीको हत्या क्रुर किसिमले हत्या भएको थियो। घटनामा एक नाबालकको पनि हत्या भएको थियो। सो घटनापछि कैलालीमा एक महिनाभन्दा लामो समयसम्म कफ्र्यु लाग्यो भने ५८ जनाविरुद्ध मुद्दा चल्यो।

घटनापछि फरार रहेका रेशम चौधरी २०७४ सालको प्रतिनिधिसभा चुनावमा राष्ट्रिय जनता पार्टीबाट टिकट लिएर कैलाली–१ बाट सांसदमा निर्वाचित भए। चुनाव जिते पनि उनी फरार थिए। तर पछि उनले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरे। टीकापुर घटनाका मुख्य योजनाकार भएको अभियोग खेपेका चौधरीमाथि त्यतिबेलादेखि नै सजाय घटाउनुपर्ने दबाब थियो। तर देशभर चर्किदो विरोधका कारण उनको सजाय घटेन। बरु उल्टै बढ्यो।

राजपाले पटक पटक संसदमा आवाज उठाएपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले उनलाई शपथ ग्रहण गराए। त्यसअघि सर्वोच्च अदालतले रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला र उच्च अदालतले दिएको आदेशलाई सदर गरेको थियो।

तर उनको पक्षमा राजपाले आवाज उठाउन छाडेन। तत्कालीन राजपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्दा पनि रेशम चौधरीलाई रिहा गर्नुपर्ने सहमति गरेको थियो। तर ओलीले त्यो सहमति कार्यान्वयन नगरेपछि राजपा सरकारबाट बाहिरियो।

जिल्ला अदालत कैलालीले रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो। त्यही फैसला उच्च अदालत र सर्वोच्च अदालतले सदर गरेपछि रेशम चौधरी रिहा हुने बाटो बन्द भएको हो।
रेशमसहित हरिनारायण चौधरी, राजकुमार कठरीया, सुन्दरलाल कठरीया, बृजमोहन डगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी, गंगाराम चौधरीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलमा १३ (३) नम्वर बमोजिम जन्म कैद सजाय सुनाइएको थियो।

तर श्रवण चौधरी नाबालक भएकाले आधा अर्थात १० बर्ष सजाय तोकियो। यस्तै लक्ष्मण थारु, लाहुराम चौधरी, रामकुमार कठरीया, सन्तराम चौधरी, जित वहादुर डगौरा, प्रेम वहादुर चौधरी, किशनलाल चौधरी, दिलवहदादुर चौधरी, सन्तोष चौधरी, विश्राम चौधरी, चुन्नीराम चौधरी र रामप्रशाद चौधरी लगायत १२ जनालाई तीन बर्ष कैद तोकियो।

चुन्कीरामबाहेक ११ जनाले कैद भुक्तानी गरिसकेको भन्दै उनीहरुलाई फैसला सुनाएकै दिन छोड्न आदेश दिइयो। यस्तै नुरुल अलि जागा भनिने तहाँवर अलि जागा, बिषराम चौधरी र रामनरेश चौधरीलाई सफाई दिन आदेश भयो।
करन चौधरीलाई बालबालिका ऐन २०४८ को दफा ११ (२) बमोजिम ६ महिना कैद हुने आदेश भएकोमा उनको पनि कैद भुक्तान भईसकेकाले थुना मुक्त गर्न आदेश भयो। फरार रहेका ३१ जनाको मुद्दा मुल्तवमा राखियो। जिल्ला अदालतको फैसलाविरुद्ध दोषी ठहर भएकाहरुले उच्च अदालत दीपायलमा पुनरावेदन गरे। चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलले पनि जिल्ला अदालतकै फैसला सदर गरिदियो। तर चार जनाको सजाय घटाएर फैसला सुनायो।

यसअघि तीन वर्ष जेल सजाय तोकिएका लक्ष्मण थारूलाई उच्च अदालतले जन्मकैदको सजाय सुनायो। जन्मकैदको सजाय हुनेमा लक्ष्मण, रेशम, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी थिए।

सुन्दरलाल कठरिया, बृजमोहन चौधरी, राजेश चौधरी र राजकुमार कठरियाका हकमा जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय तोकेकामा उच्च अदालत दिपायलले त्यसलाई बदर गरी ५ वर्ष कैद गर्न आदेश दिएको थियो। टीकापुर घटना भएको दिनदेखि नै कैलालीमा कफ्र्यु जारी भएको थियो। दोस्रो दिन ८० भन्दा बढी थारु समुदायका घर, पसल आगजनी भएको थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here