प्रदेश २ का विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या दिनहुँ उकालो लागिरहेको छ। आज बिहिबारसम्मको विवरणअनुसार प्रदेशभरिमा १ हजार ८ सय ६४ संक्रमति भएका छन्। 

आज मात्र प्रदेश नं २ को विभिन्न प्रयोगशालामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणबाट २ सय ५९ जनामा कोरोनाको संक्रमणको पुष्टि भएको छ। संक्रमित मध्ये ७४ महिला र १ सय ८५ पुरुष रहेका छन्।

जनकपुरधाम स्थित प्रादेशिक प्रयोगशालामा आज गरिएको १ सय ८२ वटा नमुना परीक्षण गर्दा धनुषा तथा महोत्तरीमा गरेर ६६ जना नयाँ कोरोनाका संक्रमित थप भएका छन्। 

धनुषाको जनकपुरधाम उपमहानगरपालिकासहित विभिन्न स्थानीय तहमा गरी १७ महिला र २९ पुरुषसहित ४६ जना र महोत्तरी जिल्लामा ८ महिला तथा ७ पुरुष गरेर १५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए।

यसै सिरहाको प्रयोगशालामा गरिएको परीक्षणमा ४ महिलासहित ७ जना, रौतहटमा २८ वटा नमुनाको परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी सर्लाहीमा ६ जना तथा नारायणी अस्पतालको प्रयोगशालामा २ सय ८८ नमुना परीक्षण गर्दा १ सय ६९ जनामा संक्रमणको पुष्टि भएको छ।

जस अनुसार बारामा २३ जना तथा पर्सामा ३१ महिलासहित १ सय ४१ जना नयाँ कोरोनाका संक्रमित थप भएका छन्। अहिले प्रदेश २ को सप्तरीमा ४४ जना, सिरहामा ३९, धनुषामा २ सय ४९, महोत्तरीमा ६९, सर्लाहीमा १६, रौतहटमा १ सय १६, बारामा २ सय १८ तथा पर्सा जिल्लामा १ हजार १ सय ३३ जना सक्रिय संक्रमित छन्।

संक्रमितमध्ये सिरहामा १० जना तथा पर्सामा ६६ जना संस्थागत आइसोलेसनमा छन्। अन्य सबै कोरोनाका संक्रमित होम आइसोलेसनमा छन्। 

महोत्तरीमा तीन कोरोना संक्रमितको मृत्यु

महोत्तरीमा आज तीन कोरोना संक्रमितको मृत्यु भएको छ। एक संक्रमितको मृत्युअघि रिपोर्ट आएको छ भने अर्का संक्रमितको मृत्यु भएर अन्तिम संस्कार भइसकेपछि रिपोर्ट आएको हो।

मृत्यु हुनेहरुमा ८०, ६६ र ३८ वर्षीय  पुरुष हुन्। ८० वर्षीय पुरुष महोत्तरी स्थायी घर भई जनकपुरमा  बसोबास गर्दै आएका हुन् भने ६६ वर्षीय पुरुष मनरा सिस्वा नगरपालिका– ९ बथनाहा निवासी हुन्।

त्यसैगरी गौशाला नगरपालिका वडा नम्बर –११ कालिपुरका एक ३८ वर्षीय पुरुषको कोरोना संक्रणमका कारण मृत्यु भएको छ। उनलाई पाँच दिनअघि कारोना संक्रमण देखिएपछि थप उपचारका लागि काठमाण्डौंस्थित टेकु हस्पिटलमा आइसोलेट गरिएको थियो।

बिहीबार उनको उपचार क्रममा मृत्यु भएको गौशाला नगरपालिका मेयर शिवनाथ महतोले बताए। उनी जनकपुरमा कार्यरत थिए। 

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here