सर्लाही गोडेता नगरपालिका र विष्णुपुर बीचको भागमा पर्ने सडकमा उडेको धुलो

सर्लाही : हुलाकी राजमार्ग निर्माणमा ढिलाइ र राजमार्गले जनजीवन अस्तव्यस्त भएको भन्दै सर्लाही विष्णुपुरका स्थानीय आक्रोशित भएका छन्। जिल्लाको गोडैता नगरपालिका र विष्णु गाउँपालिकाको बीच भागमा पर्ने यो सडक निर्माण सुरु भएदेखि नै स्थानीय प्रभावित बन्न थालेका छन्।

ठेकेदार कम्पनीको लापरबाही र गाउँपालिकाले चासो नदिँदा सडक आसपासका सयाैं नागरिक धुलोबाट मुक्त हुन सकेका छैनन्। खासगरी चैत -वैशाखको समयमा चल्ने हावाहुरीका कारण सडकको धुलोले यस क्षेत्रका बासिन्दाको स्वास्थ्यमा असर पारिरहेको छ।

अहिले दिनहुँजसो हावाहुरी र राजमार्गमा चल्ने सवारीसाधनले उडाएको धुलोका कारण यस क्षेत्रका बासिन्दाको स्वास्थ्यमा असर मात्र पारेको छैन, दिनचर्या नै जोखिममा परेको मंलगवाका एक स्थानीय सुजित यादव बताउँछन्। ‘ठेकेदार कम्पनीका मान्छे वर्षमा एक पटक आउँछन्, हेरेर मात्र जान्छन्, तर यसबारे न त गाउँपालिकाले चासो लिन सकेको छ न त अन्य सम्बन्धित निकायले नै,’ यादवले सर्लाही एक्सप्रेससँग भने।

राजमार्ग छेउमै घर भएकालाई त झन सास्ती हुने गरेको यादव बताउँछन्। बाटोमा पानी हाल्न स्थानीयले बारम्बार भने पनि ठेकेदारले नसुनेका उनको गुनासो छ।

‘एउटा सवारी चल्दा बाटो कुहिरो लागेजस्तो देखिन्छ, केही दिनअघि बाटोमा धुलो उडेको कारण विष्णु गाउँपालिकामा स्थानीयले सडकमा टायर बालेका थिए,’ यादवले भने। स्थानीयले बाटो अवरुद्ध पारेपछि भने ठेकेदारले पानी हाल्ने सहमति गरे पनि अझै त्यसो हुन नसकेको उनको भनाइ छ।

यता गोडैता नगरपालिकाका मयेर देवेन्द्र कुमार यादव भने ठेकेदार भागेका कारण स्थानीय सास्ती खेप्न बाध्य भएका बताउँछन्। उन‍ले भने, ‘ठेकेदारले पानी हाल्ने जिम्मा लिएका थिए, अहिले ठेकेदार नै बेपत्ता भयो।’ उनले धुलो उडेको क्षेत्र हुलाकी नभई त्यसलाई जोड्ने सडक भएको बताए। खरैया टोलदेखि सग्रामपुरसम्म र गोडेता सेक्सनदेखि बिर्ताटोलासम्मको भागमा बेस खसालेर ठेकेदार बेपत्ता भएका उनले सर्लाही एक्सप्रेससँग बताए।

ठेकेदारले पानी नहाल्दा स्थानीयको जनजीवन अफ्ठ्यारो भएको र आफूलाई समेत गाह्रो बनाएको उनको भनाइ छ। यसबारे केही दिनअघि मिटिङ हुँदा धुलो नियन्त्रण गर्न ठेकेदार सहमत भए पनि त्यसपछि फेरि बेपत्ता भएको उनले जानकारी दिए।

सडक निर्माणको जिम्मा पाएका ठेकेदार नागेन्द्र कुमार साहले भने अबको केही दिनभित्रै सडकमा रोलर चलाउने र धुलो नियन्त्रण हुने बताए। ‘हो धेरै धुलो उडेको छ, स्थानीय पनि चिन्तित छन्, हामी संवदेनशील भएर लागेका छाैं। अबको केही दिनमै तपाईंले धुलो हटेको देख्न पाउनुहुनेछ।’

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here