सर्लाही : सर्वोत्तम स्टिल उद्योगमा बिहीबार फलाम पगाल्ने भट्टी विष्फोट भई लागेको आगलागीमा १५ मजदुर घाइते भएका छन्।

वीरगन्ज महानगरपालिका २२ मनियारीमा रहेको उद्योगमा आज(बिहीबार) दिउँसो आगलागी भएको थियो।

घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर छ । ड्राइपोर्ट परवानीपुर सडकखण्डस्थित मनियारीमा व्यावसायिक घराना सौरभ समूहले उद्योग सञ्चालनमा ल्याएको हो।

पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालका अनुसार ८ जनाको अवस्था गम्भीर छ। घाइते १५ मध्ये १२ जना भारतका , १ जना बाराका र २ जनाको भने ठेगाना खुल्न बाँकी रहेको उनले बताए। घाइते सबैलाई वीरगन्जको गण्डकस्थित नारायणी बयोधा अस्पतालमा उपचार गराइएको खनालले जानकारी दिए ।

आगो निभाउनमा वीरगन्ज महानगरपालिकाबाट गएका २ वटा वारुण यन्त्र प्रयोग गरिएको थियो। आगो लागेको जानकारी पाएलगत्तै महानगरपालिकाबाट दुई वटा दमकलले आगो निभाएका वीरगन्ज महानगरपालिका वारुणयन्त्र शाखाका अग्नि नियन्त्रक भीमप्रसाद दाहालले जानकारी दिए। क्षतिको विवरण संकलनको काम भइरहेको पनि उनले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here