सर्लाही : महोत्तरीको मुल भन्सार भिट्ठामोड सीमानाका करिब डेढ वर्षपछि पुनः सञ्चालनमा आएको छ। महोत्तरीको जलेश्वर स्थित मुल भन्सार भिट्ठामोड सीमा नाकाको मुल बाटो सञ्चालनमा आएको हो।

कोरोना महामारीका कारण २०७६ चैत ११ गतेदेखि बन्द रहेको नाका बन्द गरिएको थियो। जसका कारण सर्वसाधारणहरू छेउछाउबाट आवतजावत गर्ने गर्दै आएका थिए

गत शुक्रवार देखि जलेश्वर नगरपालिकाको सीमासँगै जोडिएको वडा नम्बर ३ मलिवाराका वडाध्यक्ष सञ्जय पाण्डेको नेतृत्वमा करिब १०० जनाले सीमा नाकामा धर्ना बसेपछि सर्वसाधारणको आवतजावत खुला गरिएको हो। नाकाबाट मालवाहक ट्रक, टिपरलगायत साधन लकडाउनका बेला पनि निर्बाध आवतजावत हुने गरेको भए पनि सर्वसाधारणलाई रोक लगाइएको थियो।

भन्सार भएरै पैदल यात्रुलाई आवतजावत गर्न नदिएपछि उनीहरू ५०० मिटर टाढा खोल्सीको बाटो हुँदै नेपाल-भारत आउजाउ गर्दै आएका थिए। प्रमुख जिल्ला अधिकारी तथा सशस्त्र प्रहरीको काउन्टर पार्टसँगको विभिन्न समयमा नाकामा यात्रीको सहजताको प्रयासस्वरूप भएको समन्वय र जलेश्वर नगरपालिका– ३ का वडाध्यक्ष सञ्जय पाण्डेयको नेतृत्वमा सीमामा भएको दुई दिनको शान्तिपूर्ण धर्नापछि एसएसबीले यात्रीलाई ज्वरो जाँचको पुर्जा देखाएपछि मुख्य नाका भएर नै आउजाउ गर्न दिएको हो।

नाकाबाट पैदल आवागमन शुरू भए पनि सार्वजनिक तथा निजी सवारी साधन अझै सञ्चालन भएको छैन। मालवाहक गाडीहरू पहिले झैँ आउजाउ गरिरहेको जलेश्वर भन्सार कार्यालयले जनाएको छ।

अहिले कोरोनाका अवस्था नेपालको सीमावर्ती तथा भारतीय सीमावर्ती क्षेत्रमा सामान्य जस्तै भएकाले आउजाउ सञ्चालन गर्न स्थानीयवासीबाट दबाब हुँदै आएको थियो। अहिले पनि औपचारिक रुपमा नेपाल भारतको सीमा नाका बन्द नै रहेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here