सर्लाही : जिल्लामा पूर्व-पश्चिम राजमार्गका खाल्डाखुल्डीका कारण सवारी दुर्घटना बढेको छ।

मर्मत सम्भार गरिएको केही सातामै राजमार्गको दर्जनौँ स्थानमा ठूल्ठूला खाल्डो परेका छन्। चौबिसै घण्टा ब्यस्त रहने हाईवेमा सडकमा ‘ज्यानमारा’ खाल्डो बने पनि समयमै मर्मतका लागि सम्वन्धित निकायले चासो नदिएको यात्रु र सवारी चालकहरुले गुनासो गरेका छन्।

लालबन्दी नगरपालिका-१७, रानिगन्जका गोपाल अधिकारीले राजमार्गमा ठूलो खाल्डो भएको हप्तौँ भए पनि मर्मतको नभएको बताए। उनका अनुसार रानिगन्ज चौकदेखि केही मिटर पश्चिमतर्फ राजमार्गमै ठूलो खाल्डो परेपछि सवारी दुर्घटना नहोस् भनेर ढुङ्गाले घेरेर राखिएको छ।

यस्तै, जिल्लाको लालबन्दी, नवलपुर, हरिवन, बागमती लगायतका स्थानमा पनि राजमार्गमा खाल्डो परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख केदारमान दोङले पछिल्लो समयका अधिकांश दुर्घटना खाल्डाखुल्डी छल्ने क्रममा भएका पाइएको बताएका छन्।

उनले राजमार्गसँगै पुलहरु पनि गाडी गुडाउनै नमिल्ने अवस्थामा पुगेका बताए। पूर्व-पश्चिम राजमार्गमा पर्ने हरिवनस्थित चापिनी पुल अत्यन्त जीर्ण अवस्थामा पुगेको छ।

राजमार्गमा तीव्र गतिमा सवारी साधन गुड्ने हुँदा खाल्डाखुल्डीकै कारण अनियन्त्रित भएर दुर्घटनामा पर्ने गरेको स्थानीयले बताएका छन्। राजमार्गका खाल्डाखुल्डी साउन अन्तिमतिर मात्रै टालटुल पारिएको थियो।

यातायात व्यवसायी रोम भुजेलले सडकको खाल्डाखुल्डीका कारण दुर्घटनासँगै टायर कट लाग्ने, पट्टा भाँचिने जस्ता समस्या बढेको गुनासो गरे। जीर्ण सडककै कारण सवारी मर्मतमा खर्च बढेको भुजेलको भनाइ छ।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख नरेशप्रसाद केशरीले कार्यालयलाई खाल्डाखुल्डी पर्दा पुर्ने जिम्मेवारी मात्रै रहेको र खाल्डाखुल्डी परेको स्थानहरुमा पटक-पटक पुर्दै आइरहेको बताए।

उनले राजमार्ग मर्मतका लागि विश्व बैंकमार्फत ठेक्का लागेको तर ठेकेदारले काम नगरेकाले सम्भावित दुर्घटनालाई मध्यनजर गरी कार्यालय आफैँले काम गर्दै आइरहेको जानकारी दिए।

सडक डिभिजन प्रमुख केशरीले बागमती क्षेत्रमा धेरै नै खाल्डाखुल्डी परेकाले टालटुलको काम गर्दा इमोल्सनको अभाव भएको र अब तत्कालै त्यसको व्यवस्था गरी पानी पर्न रोकिएको मौका पारेर खाल्डो पुर्ने काम अघि बढाइने जानकारी दिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here