सर्लाही : जुम्लाको गुठीचौर गाउँपालिका-५ फोइगाउँकी बिजमाया जैसी एकल महिला हुन्। उनका एक छोरा र दुई छोरी छन्। श्रीमान् ११ वर्षदेखि बेपत्ता छन्।

संघीयता आएपछि महिला तथा बालबालिका कार्यालय खारेज भयो। उसो त प्रत्येक स्थानीय उपप्रमुखको नेतृत्वमा न्यायिक समिति छ। अधिकांश न्यायिक समितिका संयोजक पनि महिला नै छन्। तर महिलाले नै न्याय पाउन सकिरहेको छैनन्। महिलाका हकहित र अधिकारका लागि निरन्तर काम गर्दै आएका महिला अधिकारकर्मी पनि छन्। तर गुठीचौर-५ की बिजमाया आफ्नो पीडामा साथ दिने कोही नपाएर भौतारिएकी छन्।

बिजमाया आफ्ना साना छोराछोरीसँगै खुल्ला खेतमा बनाइएको सानो काठको टहरामा रात बिताउँदै आएकी छिन्। ‘विभिन्न ठाउँमा महिला बलात्कार भएको समाचार आउँदा, सञ्चारमाध्यमबाट सुन्दा चिन्ताले निद्रा लाग्दैन। घर बनाउने मसँगै कुनै उपाय छैन,’ उनले भनिन्। उनको रातमा ओत लाग्ने टहराभित्रै सानो टिनको चुलो छ। त्यसैमा सानो खाट अटेको छ। उनीसँग सुत्नका लागि चाहिने सिरक, तन्ना, सिरानी र डस्नासमेत छैनन्।

पुरोना घर गत पुसको हिमपातले भत्कियो। घर बनाएको जग्गा पनि माइतीले दिएका हुन्। साँझबिहानको छाक टार्न गाह्रो हुने उनको घर बनाउन सक्ने खालको अवस्था छैन। ‘भत्केको घरको काठले सानो टहरा बनाएँ,’ उनले भनिन् । २० वर्ष अगाडि फोइगाउँका धर्मदत्त जैसीसँग बिहे गरेर आएकी उनी श्रीमान् सँगै हुँदा पनि अरुकै ज्याला मजदुरी गरेर जीविका चलाउँथिन् । अहिले उनीसँग सम्पत्तिको नाममा एक भारी खेत र एक हलको लेकाली जग्गा छ।

११ वर्षअघि बिजमायाका श्रीमान् धर्मदत्त डोल्पामा व्यापार गर्न गएर दुई वर्ष उतै बसे। त्यसपछि उनी तिहारको अघिल्लो दिन घर आए। तिहार मनाए। तिहारको भोलिपल्ट खुद्रा सामान किनेर ल्याएर गाउँमै व्यापार गर्छु भनी नेपालगन्ज गए। त्यसपछि न आफू आए, न त केही खबर नै आयो। ‘म श्रीमान् फर्केर आउने आशमा तीनवाटा बच्चा पालेर बसे,’ उनले भनिन्, ‘अब त शरीर पनि कमजोर हुँदै गयो। काम गरेर छोराछोरी पाल्न सक्ने अवस्था छैन।’

११ वर्षसम्म श्रीमान् फर्केर आउने आशमै बिताएको उनले सुनाइन् । ‘मैले रुने ठाउँ पनि पाइनँ। स–साना छोराका अघिल्तिर रुन मिलेन,’ उनले भनिन्, ‘माइतीको अवस्था पनि उस्तै छ। रुनलाई जानू कहाँ जाउँ ?’

बिजमाया ३९ वर्षकी भइन्। लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमै यो पीडाले उनको अनुहार चाउरी परिसकेको छ। ‘म मेरो छोराछोरीका लागि केही गर्नुपर्छ भन्ने सोचाइमा बाँचेकी छु,’ उनले भनिन् । गाउँमा स्थानीय सरकार आएपछि श्रीमानको खोजतलास गरिदिन भनी प्रहरीमा निवेदन दिए पनि आफ्नो अगाडि पछाडि लाग्ने मान्छे नभएपछि प्रहरीले वास्ता नगरेको उनको गुनासो छ।

गरिबलाई नचिन्ने संघीयताको के काम ?

गाउँगाउँमा सिहंदरबार आएको पनि पाँचौं वर्ष लागिसकेको छ। तर गरिब दुःखीले संघीयताको महसुस गर्न नसक्नु विडम्बना भएको उनी बताउँछिन् । ‘गाउँमा सिंहदरबार आयो। तर हामी जस्ता घरबारविहीनलाई पुनर्बास गराउलान् भन्ने सोचेकी थिएँ,’ उनले भनिन्, ‘धनीलाई धनी हुने र गरिबलाई झन् गरिब बनाउने रहेछ। मैले बिताइरहेको यो कालो रात कसैले बुझेन।’

उनीसँग गाउँमा आउने विकासको पनि तीतो अनुभव छ। विकास ल्याउनेहरु काम त गराउँछन्, तर पैसा दिने बेला आजभोलि भन्दै महिनौ दिन कुराउने गरेको उनको दुःखेसो छ । छोरोछोरीले ‘आमा हामी ठूलो घर कहिले बनाउने’ भनेर सोध्दा उनको छाती चिरिन्छ। ‘छोराछोरीले मर्न दिँरदैनन्। यो गरिबीले बाँच्न दिँदैन,’ उनले भनिन् ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here