सर्लाही : प्रहरीले सर्लाहीको हरिपुर नगरपालिका-१, जानकीनगरबाट बुधवार राती अवैध काठसहित दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मूर्तियाबाट खटिएको प्रहरी गस्ती टोलीले जानकीनगरस्थित भित्री सडकबाट ना.१ त. ७८०२ नम्वरको ट्याक्टरमा राखेर तस्करी हुँदैगरेको काठ बरामद गरेको हो । विशेष सुराकीका आधारमा सालको ५५ क्युबिक फिट बराबरको ११ थान ठूला गोलिया बरामद भएको प्रहरीले जनाएको छ ।

काठ र ट्याक्टर सँगै ट्याक्टरधनी हरिपुर नगरपालिका-१, जानकीनगरकै ५० वर्षीय जयदेव महतो र सोही ठाउँका ४० वर्षीय लालबहादुर लोप्चनलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्ति, बरामद भएको काठ र ट्याक्टर आवश्यक कारवाहीका लागि बिहिवार बिहान सबडिभिजन वन कार्यालय जानकीनगरमा बुझाइएको प्रहरीले जनाएको छ ।

सर्लाहीमा जानकीनगर, मूर्तिया र घुर्कौली क्षेत्रमा काठको व्यापक तस्करी हुनेगरेको स्थानीय बताउँछन् । केही दिनअघि वनका कर्मचारीहरुको गस्ती टोलीले हरिवन नगरपालिका– ६, घुर्कौलीस्थित सुकुम्वासी बस्तीको घरैपिच्छेबाट सालका गोलिया तथा चिरान फल्याकहरु बरामद गरेको थियो ।

वन कार्यालयबाट सहज रुपमा काठ नपाउँदा यसरी तस्करी गरेर बेचबिखन गर्नेक्रम बढेको प्रशासनको भनाइ छ। वनमा निवेदन दिएको महिनौँसम्म पनि काठ नपाएको जिल्लावासीले गुनासो गर्दैआएका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here