लालबन्दी-१७ रानीगन्जमा जंगली हात्तीले क्षति गरेको कृषकको धानबाली

सर्लाही : लालबन्दी नगरपालिकामा केही दिनयता जंगली हात्तीले फेरि दुःख दिन थालेको छ। लालबन्दी-१७ (रानीगञ्ज) मा हात्ती आतंक बढ्न थालेपछि स्थानीय चिन्तित बन्न थालेका छन्।

पाक्न थालेको धान र तरकारी खेती हात्तीबाट जोगाउन स्थानीय रातभर जागाराम नै बस्ने गरेका छन्। स्थानीय कृषक प्रवीण पौडेलका अनुसार अहिले स्थानीयको दिनचर्या नै हात्ती लखेट्ने भएको छ।

आफ्नो करिब पाँच कठ्ठा खेतमा लगाएको धानबाली हात्तीले सखाप पारेको उनले गुनासो गरे। धानबाली खाएको मात्र नभई हात्ती हिँड्दा अरू पनि क्षति भएको उनले सर्लाही एक्सप्रेससँग बताए।

त्यस्तै स्थानीय तरकारी कृषक गणेश खरेलको एक कठ्ठामा लगाएको बोडी खेती पनि हात्तीले पूर्ण रूपमा क्षति गरेको छ। “केही होला भनेर तरकारी खेती गरेका थियौं, तर जंगली हात्तीले एकै दिनमा सखाप पार्‍यो”, खरेलले दुःख व्यक्त गरे।

अहिले स्थानीयको रातभर नाङ्लो ठटाएर, पटका पड्काएर र होहल्ला गरेर हात्ती भगाउने प्रयास गर्दै आए पनि हात्तीले अझै दुःख दिन नछाडेको स्थानीयले बताउने गरेका छन्।

यसअघि केही महिना अघि पनि लालबन्दी नगरपालिकाकै वडा नम्बर १० र ११ मा पनि हात्तीले स्थानीय केहीको घर भत्काएको थियो। हात्तीले घर भत्काउँदा केही घरपरिवार विस्थापितसमेत बन्न पुगेका थिए।

पछिल्लो केही महिनायता सर्लाहीको लालबन्दी र हरिवन नगरपालिकामा जंगली हात्ती आतंक नै बनेको स्थानीयले गुनासो गर्न थालेका छन्। स्थानीय प्रशासनले भने अहिलेसम्म हात्ती भगाउन कुनै ठोस कदम चाल्न सकेका छैनन्। जसले गर्दा कृषक तथा जंगल आसपास घर भएकाहरू चिन्तित भएका छन्।

केही महिना पहिले उक्त हात्तीको बथानले ईश्वरपुरमा एक जनाको ज्यान लिएको थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here