सर्लाही : झण्डै एक दशकअघि धनुषाको जनकपुरधामको रामानन्दचोकमा पाँचजनाको ज्यान जाने गरी भएको बम बिस्फोट जन्मकैदको सजाय पाएका सञ्जय साह ‘टकला’को सजायलाई उच्च अदालत जनकपुरले उल्ट्याएको छ। उच्च अदालतले जन्म कैदलाई घटाएर सात वर्ष मात्र सजाय हुने फैसला सुनाएको छ।

२०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै रामानन्द चोकमा बसेको धर्नामा भएको बम विष्फोटको मुद्दाको सुनुवाइ उच्च अदालतमा जनकपुरमा गत आइतबारदेखि सुरु भएको थियो। बम विस्फोटमा धर्ना बसेका पाँचजनाको मृत्यु र ३३ जना घाइते भएका थिए। उक्त घटनाको मुख्य योजनाकार अभियोगमा जिल्ला अदालत धनुषाले पूर्वसांसद संजय साहलाई जन्मकैदको सजाय सुनाइसकेको थियो।

साह हाल ललितपुरको नक्खु कारागारमा छन्। उनले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जनकपुरमा रिट दायर गरेका थिए। रिटको उच्च अदालत जनकपुरका न्यायाधीशद्वय रमेश ढकाल र धीरबहादुर चन्दको संयुक्त इजलासले आइतबार राति जन्म कैदलाई घटाएर सात वर्ष मात्र सजाय हुने फैसला गरेको एक कानुन व्यवसायीले जानकारी दिए।

ज्यान मार्ने उद्योगमा सात वर्षको सजाय र कर्तव्य ज्यान मुद्दामा मुख्य कसुरदार नभएर षड्यन्त्रकारीको रुपमा मात्रै सजाय निर्धारण गरिएको अदालतले जनाएको छ।

प्रहरी अनुसन्धानको आधारमा साहलाई जिल्ला अदालत धनुषाले जन्मकैदको सजाय सुनाएको थियो। अभियुक्त साहलाई अर्को मुद्दा सञ्चार उद्यमी अरुणकुमार सिंघानियाको हत्यामा पनि धनुषा जिल्ला अदालतले जन्मकैदको सजायको फैसला गरेको थियो।

धनुषाका तत्कालिन प्रहरी प्रमुख उत्तमराज सुवेदीको सकृयतामा साहलाई भारतको राजधानी नयाँ दिल्लीबाट पक्राउ गरी ल्याइएर कारबाही अगाडि बढाएको थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here