सर्लाही : नेकपा (एमाले) प्रदेश २ कमिटीका २५ जना सदस्यले एकैपटक राजीनामा दिएका छन्।

यसरी सामूहिक राजीनामा दिने सबै नेता प्रभु साहनिकट हुन् । मूल नेतृत्वसँग असन्तुष्टि जनाइरहेका साह असोज १५ देखि भएको तीन दिन ललितपुरको गोदावारीमा भएको एमालेको पहिलो विधान महाधिवेशनमा समेत उपस्थित भएका थिएनन्। अध्यक्ष केपी ओलीलाई आठबुँदे माग राखेर त्यो लागू गरानुपर्ने अडानमा रहेका साहले माग सम्बोधन नभएपछि असन्तुष्टि व्यक्त गरिरहेका छन्।

गत ११ असोजमा एमाले प्रदेश २ का अध्यक्ष ज्वाला साहले प्रदेश कमिटी विस्तार गर्दै दुई सय ७३ सदस्यीय प्रदेश कमिटी बनाएका थिए । ‘हामीले नेकपाकै निरन्तरताको रूपमा बुझ्दै आएका एमालेमा हाम्रो पक्षको आममनोविज्ञान र अहिलेको वस्तुगत आवश्यकतालाई प्रतिनिधित्व गर्दै हाम्रो आदरणीय नेता प्रभु साहज्यूले राख्नुभएको आठबुँदे मागलाई नजरअन्दाज गर्ने, तर हाम्रो अनुहारको निरन्तर व्यापार गरिरहन सहमतिबिना नै कमिटीमा केही मान्छेको मात्र नाम राखी हामीभित्रै भ्रम र फुटको स्थिति सिर्जना गर्ने, वरिष्ठ कमरेडहरूलाई छोडेर कनिष्ठलाई कमिटीमा राख्ने काम भयो । यो पार्टीको हितविपरीत छ,’ २५ जना सदस्यले दिएको संयुक्त राजीनामापत्रमा उल्लेख छ।

उनीहरूको राजीनामापत्रमा कम्युनिष्टमा योगदान गरेका व्यक्तिहरूलाई अवसर दिइनुपर्नेमा राजा-महाराजाको शैलीमा विधि प्रक्रियाको ख्यालै नगरी चाकडी गर्नेलाई मात्र अवसर दिइनु गलत रहेको उल्लेख छ ।

राजीनामा दिनेहरूमा प्रदेश सदस्यहरू उपेन्द्र साह, मनोजकुमार यादव, कुन्दन कुशवाहा, त्रिभुवन साह, शियाराम कुशवाहा, कविता साह, रामआधार कापड, राजकुमार यादव, शिवपुजन यादव, श्रीलाल महासेठ, सिला यादव, शिवकुमार कापड, रामसिंह यादव, इस्लाम हवारी, रामप्रित राम, महेश यादव, किसुन मण्डल, राधाकृष्ण मैनाली, शोभित यादव, फुलझरी देवी, योगेन्द्र साह, मो। सैनुला अन्सारी, मुक्ति नारायण मिश्रा, रासनारायण राय र सन्तोष मेहता छन् ।

प्रभु साह र हृदयेश त्रिपाठी मिलेर नयाँ दल दर्ता गर्दै

यसैबीच नेता साह र गत निर्वाचनदेखि नै स्वतन्त्र समूहको नाउँमा राजनीति गर्दै आएका तराई मधेशका पुराना नेता हृदयेश त्रिपाठी मिलेर नयाँ दल दर्ताको अन्तिम तयारी थालेका छन्।

त्रिपाठी ओली नेतृत्वको सरकारमा स्थानीय विकास र स्वास्थ्य मन्त्रीसमेत भएका थिए। गत निर्वाचनमा उनले तत्कालीन एमाले र माओवादी गठबन्धनसँग सहकार्य गरेर चुनावमा भाग लिएमा थिए।

सद्भावना पार्टीबाट लामो समय राजनीति गरेका त्रिपाठी पनि कम्युनिष्ट विधारधाराबाट प्रभावित नेतामा पर्छन्। साह पनि माओवादी जनयुद्धमा भूमिगत रहेर कम्युनिष्ट राजनीति गरेका नेता हुन्।

तत्कालीन मधेशी मोर्चामा आबद्ध ६ ओटा दलहरू एकीकृत भई राष्ट्रिय जनता पार्टी (राजपा) बनेपछि त्यसबाट टाढिएका त्रिपाठी त्यसपछि तत्कालीन नेकपामा जाने चर्चा थियो। तर उनी गएनन्। सहकार्य गरेर केपी ओली सरकारमा सहभागी भने भएका थिए। सरकारमा सहभागी हुँदादेखि नै नयाँ पार्टी खोल्ने त्रिपाठीको चर्चा भए पनि त्यो हुन सकेको थिएन।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here