सर्लाही : पथलैया व्यापारिक  सडकखण्डमा मापदण्डविपरीत क्षेत्रभित्र सञ्चालित पेट्रोल पम्पले दुर्घटनाको जोखिम बढाएका छन्।

६ लेनको व्यापारिक मार्गको ३२ किलोमिटर सडकखण्डमा करिब ४२ वटा पेट्रोल पम्प सञ्चालनमा छन्। तीमध्ये ११ वटाले मापदण्डविपरीत सडक सीमा मिचेर सञ्चालन भइरहेकाले दुर्घटनाको जोखिम बढेको हो।

सडक सञ्चालन कार्यविधिले सडक र पेट्रोल पम्पबीचको दूरी ६ मिटर हुनुपर्ने व्यवस्था गरेको छ। तर, बाराको पथलैयादेखि पर्साको वीरगन्जसम्म ११ वटा पेट्रोल पम्प मापदण्डविपरीत सडक सीमाभित्र सञ्चालनमा छन्।

मापदण्डविपरीत सञ्चालन भइरहेका पम्प सार्न गतवर्ष नै सूचना जारी गरिसकेको व्यापारिक मार्ग कार्यालयले जनाएको छ।

मापदण्डविपरीत सञ्चालनमा रहेका ११ वटा पम्पमध्ये पनि केही पम्प सार्न सञ्चालक तयार भएपनि बाँकी पम्प सञ्चालक विभिन्न समस्या देखाएर नसार्ने दाउमा रहेको देखिन्छ।

बाराको जीतपुर  बजारस्थित बिन्दा आयल स्टोरका सञ्चालक अरुण रौनियारले पम्प सार्ने विषयमा सडक कार्यालयबाट कुनै पत्र नआएको बताए।

‘सडक भोलि कुन डिजाइनको होला, डिजाइन फेरि चेन्ज होला भनेर पर्ख र हेरको हिसाबले हामी बसिरहेका छौं,’ उनले भने, ‘पटक पटक पम्प सार्ने खर्च गर्न हामी पनि सक्दैनौं। बाटोको कारणले ०६५ सालदेखि २ पटक पम्प सारिसक्यौं।’

२ वर्षभित्र निर्माण सक्ने गरी ०७३ असार मसान्तमा निर्माण कम्पनीसँग सम्झौता भएपनि सडक यस्तै कारणले बन्न सकेको छैन। ‘बाटो कहिलेसम्म बन्ने हो टुंगो छैन, पटक पटक तोड्ने बनाउने गर्दा आर्थिक हिसाबले हामीलाई पनि समस्या छ,’ रौनियारले भने।

यसो भन्छन् निगमको अमलेखगन्ज डिपोका प्रमुख

नेपाल आयल निगम अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले मापदण्डविपरीत सडक सीमाभित्र सञ्चालित पम्पलाई पेट्रोलियम पदार्थ आपूर्ति रोक्ने विषयमा सडक कार्यालयबाट कुनै पत्राचार नभएको बताए।

‘पथलैयादेखि परवानीपुरसम्म ६ लेन सडक सीमाभित्र सञ्चालित पम्पलाई पेट्रोलियम पदार्थको सप्लाई रोक्न सडकबाट हामीलाई पत्र आएको छैन,पत्र नआएसम्म सप्लाई रोक्न मिल्दैन,’ अमलेखगन्ज डिपो प्रमुख यादवले भने।

सवारी आवागमनको अत्यधिक चाप हुने वीरगन्ज–पथलैया सडकखण्डमा गुड्ने मालबाहक सवारीसाधनको साइलेन्सरबाट धुवाँसँगै निस्कने आगोको झिल्काले सडक सीमाभित्र रहेका पम्पमा आगलागीको जोखिम छ।

सडकको न्यूनतम मापदण्डसमेत पूरा नगरेका पम्पले आगलागी भइहाले आपतकालीन अवस्थामा आगो निभाउन सिलिन्डरसमेत राखेका छैनन्।

सावधानीका न्यूनतम सर्तसमेत पालना नगरी सञ्चालन भइरहेका यस्ता पम्प सार्नुको विकल्प नरहेको आयल निगमले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here