सर्लाही : नेपालमा अवैध रुपमा विक्री वितरण भइरहेका पेय पदार्थहरु रेड ब्लु, रेड स्टार, रेड बेल, रेड डिमो र रेड बफेलोमाथि कारबाही हुने भएको छ । यी सबै पेय पदार्थहरुले रेडबुलको ट्रेड मार्क चोरी गरी अवैध रुपमा नेपालमा विक्री वितरण गर्दै आएपछि उद्योग विभागमा उजुरी नै परिसकेको छ ।

आधिकारिक पेय पदार्थ रेडबुलले विभागमा उजुरी दर्ता गराएपछि सोही ट्रेडमार्क चोरी गरी ​उत्पादन तथा विक्री वितरण गर्नेहरुमाथि कारबाही हुने भएको हो ।

अष्ट्रियाको प्रतिष्ठित कम्पनिद्वारा उत्पादित रेड बुलको ट्रेडमार्क चोरी गरेर नेपाली बजारमा यतिबेला रेड ब्लु र रेड बफेलो खुलमखुल्ला विक्री वितरण भइरहेको छ ।

रेडबुलको ट्रेडमार्क चोरी गरेर रेड ब्लु उत्पादन तथा विक्री वितरण गर्नेमाथि कारबाही माग गर्दै वास्तविक उत्पादक कम्पनिले उद्योग विभागमा उजुरी गरेको हो ।

रेडबुलको आधिकारीक उत्पादक रेडबुल एजी स्वीजरल्याण्डले भियतनाममा रहेको माइ वेभरेज एण्ड फूड प्रोसेसिङ स्टक कम्पनि र नेपालमा कार्यालय रहेको पशुपति थाई वेभरेज कम्पनि विरुद्ध पेण्टेट, डिजायन तथा ट्रेडमार्क ऐन, २०२२ अनुसार कारबाही माग गर्दै विभागमा उजुरी गरेको हो ।

भियतनामस्थित उक्त कम्पनिले नेपालमा अवैध रुपमा रेडब्लु विक्री वितरण गर्दै आएको छ । त्यस्तै पसुपति थाइ वेभरेजले रेड बफ्यालो नामक पेय पदार्थ विक्री वितरण गर्दै आएको छ । जसको लोगो (ट्रेडमार्क) उस्तै छ ।

नेपालमा रेड बुल (Red bull) र Double Bull device ट्रेडमार्कहरु नेपालमा २०५५ सालदेखी नै दर्ता कायम छ । यो ट्रेडमार्क विश्वका २०५ भन्दा बढी मुलुकहरुमा दर्ता भई विश्वका १७३ भन्दा बढी मुलुकमा आफ्नो उत्पादन विक्री वितरण भइरहेको छ।

नेपालकै एक कम्पनि मार्फत भियतनामबाट नेपाल भित्र्याइएको रेड ब्लुलाई यसअघि समेत उद्योग विभागले ५ हजार रुपैयाँ जरिवाना तिराएको थियो । त्यतिबेला रेड बुलको ट्रेडमार्क चोरी गरेको अभियोगमा रेड ब्लुलाई कारबाही भएको थियो । सोही समयदेखि नेपालमा रेड ब्लु विक्री वितरणमा प्रतिबन्ध लगाइएको थियो । सरकारले २०७६ जेठमै रेड ब्लु नामको इनर्जी ड्रिंक नेपाल आयातमा रोक लगाएको थियो ।

२०७६ जेठ २४ गते उच्च अदालत पाटनले उद्योग विभागको निर्णय सदर गर्दै रेड ब्लुलाई रेडबुलको जस्तो चित्र प्रयोग गरेर इनर्जी ड्रिंक भित्र्याउन नपाउने आदेश गरेको थियो । उक्त आदेशकै आधारमा विभागले नेपालमा आयात तथा विक्री वितरणमा रोक लगाएको थियो ।

​तर, आयातमै रोक लगाइएको रेड ब्लु अहिले बजारमा छ्याप्छ्याप्ती देखिन थालेपछि रेडबुलले उजुरी गरेको जनाएको छ । नेपाली बजारमा रेडबुल जस्तै देखिने (लोको उस्तै रहेका) तर फरक नाम भएका रेड ब्लु, रेड स्टार, रेड बेल, रेड डिमो जस्ता इनर्जी ड्रिकं अवैध रुपमा विक्री भइरहेका छन् । कम्पनिले यी सबै विरुद्ध मुद्दा हालेको छ ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here