सर्लाही : बुटवल उपमहानगरपालिका-१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच आज झडप हुँदा मोतिपुर तनावग्रस्त भएको छ भने केही घाइते भएका छन्।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रहरीले कैयौँ राउन्ड अश्रुग्यास र हवाईफायर गरेपछि प्रहरीमाथि ढुंगा प्रहार गरेकाले केही राउन्ड गोली चलाइएको जानकारी दिए।

गोली लागेर केही प्रहरी, स्थानीयवासी र प्रदर्शनकारी घाइते भएको उनले बताए। घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

झडपको आशंकामा जिल्ला प्रशासन कार्यालय रूपन्देहीले बुटवलमा निषेधाज्ञा जारी गरेको थियो।

झडपपछिको दृश्य।

प्रजिअ तिवारीले भने, ‘हामीले सो क्षेत्रमा निषेधाज्ञा जारी गरेका थियौं र जग्गा अतिक्रमण नगर्न सूचना पनि जारी गरेका थियौं, तर त्यसको उल्लंघन भयो।’ उनले स्थिति नियन्त्रणमा आएको जानकारी दिए।

प्रहरीले अस्थायी रूपमा बनाइएका टहरासमेत भत्काएको छ। झडपमा २ जना घाइते भएका छन् भने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

झडपमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको र दुई राउन्ड गोली चलाएको आरोप स्थानीयवासीले लगाएका छन्।

जिल्ला प्रशासनले पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुर, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका-१८ स्थित औद्योगिक करिडोरसम्म निषेधाज्ञा जारी गरेको हो।

किन भयो मोतिपुर तनावग्रस्त

औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो। सो जग्गा अतिक्रमण गर्न साविक लुम्बिनीका विभिन्न जिल्लाबाट स्थानीय बुटवल आएको प्रहरीले जनाएको छ।

अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ। जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयले विरोध गरेका थिए।

करिब २ सय बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो। विसं २०७२ चैत १ गते मोतिपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भयो।

बुटवल उप-महानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति थियो।

अश्रुग्यास प्रहारबाट उठेको धुवाँको मुस्लो।

औद्योगिक क्षेत्रको जग्गामा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो। 

प्रशासनले तीन दिनदेखि राति टहरा भत्काउँदै आएको थियो। अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको हो। 

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here