सर्लाही : हरिवन नगरपालिकाले कोरोना संक्रमितका लागि १ सय शैयाको अस्पताल र एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। पछिल्लो समय नयाँ भेरियन्टसहित कोभिड १९ को दोस्रो लहर सर्लाहीमा पनि तीव्र गतिमा फैलिरहेको छ।

नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै वडा नम्बर ४ सासापुर स्वास्थ्य चौकीमा अक्सिजनसहितको ४० शैया र नयाँरोडमा रहेको सर्लाही जीवन हस्पिटलमा ६० शैयाको व्यवस्था गरेको छ।

नगर प्रमुख गणेश प्रसाईंले नगरका कोही कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भनेर उपचारका लागि स्वास्थ्यकर्मी तयारी अवस्था राखिएको र अक्सिजनसहितको शैया पनि व्यवस्था गरिएको बताए। साथै बिरामीको थप उपचारका लागि अन्यत्र लानुपर्ने अवस्था भएमा २४ सै घण्टा अक्सिजनसहितको एम्बुलेन्सको व्यवस्था गरिएको जानकारी दिए।

कोभिड १९ को यो महामारीमा कसरी नागरिकलाई सहज रुपमा एम्बुलेन्स सेवा प्रवाह गर्न सकिन्छ भनेर एम्बुलेन्स चालकसँग पनि नगरपालिकाले छलफल गरेको उनले बताए।

चालकहरुले भोग्नु परेको समस्या र आइपर्ने समस्याबारे पनि नगरपालिकाले चासो देखाएको छ। नगरपालिकाले लिएको मानव सेवाको कामलाई सहज रुपमा सेवा प्रवाह गर्न तयार रहेको चालकहरुले प्रतिबद्धता जनाएका छन्।

हाल नगरपालिकाभित्रका विभिन्न अस्पताल तथा संघसंस्थाले सञ्चालन गरेका १३ वटा एम्बुलेन्समार्फत सेवा दिएका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here