सर्लाही – सर्लाहीमा कोरोना भाइरस कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको सङ्ख्या बढेको छ । बिरामीमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, टाउको दुख्ने र छाती दुख्ने लक्षण देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । जिल्ला अस्पताल मलङ्गवाका डाक्टर श्रीप्रताप साहले अस्पतालमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको चाप बढेको जानकारी दिए।

‘अहिले कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी दैनिक ६०–७० जना आउने गरेका छन् । उनीहरू सबैमा कोभिड भएको भने होइन, लक्षण चाहिँ मिल्दोजुल्दो छ, अस्पतालमा अहिलेसम्म गरिएको पीसीआर परीक्षणबाट १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ, एक सय २० जना बिरामीको पीसीआर रिपोर्ट आउँन बाँकी छ ।

बरहथवा प्राथमिक स्वास्थ्य केन्द्रमा पनि बिरामीको चाप निकै बढेको जनस्वास्थ्य अधिकृत सत्यनारायण यादवले बताउनुभयो । भाइरल ज्वरो, रुघाखोकीका बिरामी निकै बढेका छन्, हिजो सामान्य स्वास्थ्य परीक्षण गरिएको ३८ जना बिरामीमध्ये १६ जनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ । समुदायस्तरमा नै नयाँ कोरोनाको लहर फैलिएको अनुमान गर्न सकिन्छ, पीसीआर परीक्षण सहज नहुँदा नागरिकले धेरै समस्या खेप्नुपरेको छ ।

बलरा नगरपालिका ३ मिर्जापुरको एकै गाउँका ७० जना भन्दा बढीमा उच्च ज्वरो आएको छ । सदरमुकाम मलङ्गवादेखि ४० किलोमिटर पश्चिम भारतसँग सीमा जोडिएको दुर्गम गाउँमा यसरी मानिस बिरामी पर्न थालेपछि त्यहाँका स्थानीयवासी थप त्रसित भएका छन् ।बिरामीहरूमा लगातार दुई हप्तासम्म उच्च ज्वरो र टाइफाइडको लक्षण जस्तो देखिएको र अधिकांश बिरामीले गाउँघरमा रहेका सामान्य स्वास्थ्यकर्मीसँग उपचार गराउने गरेका छन् ।

सामान्य लक्षण देखिँदा गाउँघरमै उपचार गर्ने र अवस्था गम्भीर आएपछि मात्र अस्पताल जाने गर्दा कोभिडको जोखिम झनै बढ्ने जिल्ला अस्पताल मलङ्गवाका मेडिकल सुपरिन्टेन्डेन्ट डा.सञ्जीव सिंहले बताए । यसैबीच कोरोनाको जोखिम उच्च देखिएको भन्दै हरिवन नगरपालिका र लालबन्दी नगरपालिकाले एक हप्ताका लागि बजार, कार्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here