सर्लाही : कोरोनाको नयाँ भेरिएन्ट देखापरेसँगै प्रदेश २ मा संक्रमित संख्या बढ्दै जान थालेको छ।

प्रदेश २ को विभिन्न जिल्लामा कोरोना संक्रमित संख्या बढेर ३ हजार ४ सय ९५ पुगेको छ। जसअनुसार सबैभन्दा बढी पर्सामा संक्रमित फेला परेका छन् भने सबैभन्दा कम सर्लाहीमा छन्।

प्रदेश २ को स्वास्थ्य निर्देशनालयको अनुसार बुधबारसम्म सक्रिय संक्रमितमध्ये ३ हजार ३ सय ९ जना होम आइसोलेसनमा र १ सय ८६ जना संस्थागत आइसोलेसनमा छन्।

विवरणअनुसार सबैभन्दा बढी पर्सामा सक्रिय संक्रमित छन्। पर्सामा होम आइसोलेसनमा १ हजार ६ सय २ जना तथा संस्थागत आइसोलेसनमा १ सय २४ छन्।

यसैगरी धनुषामा सक्रिय संक्रमति संख्या ६ सय ९२ छ। जसमध्ये होम आइसोलेसनमा ६ सय ६४ जना तथा संस्थागत आइसोलेसनमा २८ जना छन्।

बारामा सक्रिय संक्रमित संख्या ३ सय ४२ छ। जसमध्ये ३ सय २६ जना होम आइसोलेसनमा र १६ जना संस्थागत आइसोलेसनमा छन्। त्यसैगरी महोत्तरीमा २ सय ६३ जना र रौतहटमा १ सय ८३ जना सक्रिय संक्रमित होम आइसोलेसनमा छन्।

सप्तरीमा पनि १ सय ६१ जना कोरोनाका सक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने सिरहामा १ सय १४ जना छन्। जसमध्ये १८ जना संस्थागत आइसोलेसनमा र ९६ होम आइसोलेसनमा छन्।

सर्लाहीमा सबैभन्दा कम १६ जना कोरोनाका सक्रिय संक्रमित रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेशमा हालसम्म २ सय ३९ जना कोरोनाका संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

कोरोनाका संक्रमण दर सरदर रुपमा प्रदेश २ मा ४० देखि ५० प्रतिशत रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख डा श्रवण कुमार मिश्रले जानकारी दिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here