सर्लाही : ईश्वरपुर नगरपालिका-१२ घारीबथानमा छिमेकीलाई जिउँदै आगो लगाई हत्या गर्ने आरोपीलाई आज प्रहरीले पक्राउ गरेको छ।

घारीबथानस्थित नयाँटोलका ५८ वर्षीय शियाशरण रायलाई सोही ठाउँका शिवजी साहले वैशाख २० गते शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। आगोले जलेर गम्भीर घाइते शियाशरणलाई उपचारका लागि तत्कालै धनुषाको लालगढ पुर्‍याइएको थियो।

घाइतेको त्यहाँ उपचार हुन नसकेपछि सामान्य उपचारपश्चात थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडाैं लगिएको थियो। तर काठमाडाैंमा उपचार क्रममा शियाशरणको ज्यान गएको थियो।

साहलाई मलंगवा नगरपालिका-५ भाडसरस्थित नेपाल-भारत सीमावर्ती क्षेत्रबाट इलाका प्रहरी कार्यालय केशरगन्जको टोलीले आज पक्राउ गरेको हो। पक्राउ परेका अभियुक्तउपर कर्तव्य ज्यानसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान बढाइने प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारीका लागि दुबई गएका शिवजीले घर आउनेबित्तिकै शियाशरणमाथि पेट्रोल छर्केर आगो लगाएका थिए।

Facebook Comments Box

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here