प्रदेश २ को प्रादेशिक अस्पतालको हाताभित्र रहेको प्रादेशिक कोभिड अस्पतालमा एक समूहले तोडफोड गरेको छ।

कोरोना संक्रमित आफन्तको मृत्युपछि उनका आफन्तलगायत केही मानिसले अस्पतालमा रहेको तीन भेन्टिलेटरसहित अन्य उपकरणमा समेत क्षति पुर्‍याएका अस्पतालका मेडिकल सुपरिडेन्डेन्ट डा. प्रमोद यादवले बताए।

उनका अनुसार त्यो समूहले केही स्वास्थ्यकर्मीलाई समेत हातपात गरेको छ।

तोडफोडबाट अस्पतालको वार्डमा जडान गरिएको तीन भेन्टिलेटरसहित अन्य उपकरणमा समेत गरी करिब डेढ करोड बराबरको क्षति पुगेको मेसु डा. यादवले जनाए।

डा. यादवले भने, ‘आज साँझ ५ः३० बजे तिर महोत्तरीको जलेश्वर अस्पतालबाट रेफर गरिएको एक जना ५५ वर्षीय दुःखीराम महतो नामको सिरियस कोराना संक्रमित बिरामी उपचारका लागि ल्याइएको थियो। उनलाई तत्कालै भेन्टिलेटरको आवश्यक्ता देखिएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो। तर उपचार क्रममा उनको मृत्यु भएपछि उनका आफन्तसँगै केहीले अस्पतालमा आक्रमण गरे। स्वास्थ्यकर्मी पनि गाली गलाैज गर्दै हातपात गरे।’

मेसु डा. यादवले अस्पतालमा स्वास्थ्यकर्मी उपर भएको दुर्व्यवहार, हातपात र तोडफोड घटनापछि स्वास्थ्यकर्मीहरुले अहिले अस्पताल छाडेर हिँडेको बताए। उनले भने, ‘स्वास्थ्यकर्मीहरुले आफूहरुले यस्तो महामारीका बेला समेत ज्यानको बाजी लगाएर बिरामीलाई सेवा गर्दै आए पनि समेत आफ्नो शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म काम फर्किन सक्दैनाैं।’

तोडफोड गरेको आरोपमा प्रहरीले २ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए।

अस्पतालका मेसु डा. यादवले केहि मेडिकल माफियाहरुले प्रादेशिक अस्पतालले बिरामीलाई सेवा प्रदान नगरून् भन्ने उद्देश्यले अस्पतालमा तोडफोड गराएका हुन सक्ने आशंका व्यक्त गरेका छन्।

मेसु यादवले यस विषयमा भोलि प्रशासनमा छानबिन र दोषीउपर कारबाहीको मागसिहत उजुरी दर्ता गर्ने तयारी गरिएको समेत बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here