कोरोनाको दोस्रो लहर फैलिएसँगै रौतहटमा २६ जना संक्रमितको मृत्यु भएको छ।

जिल्लाभित्र उपचार गराएका १६ जना, जिल्लाबाहिर विभिन्न अस्पतालमा उपचार गराएका  १० जनाको निधन भएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। यो मृत्यु संख्या वैशाख १३ गतेयताको भएको प्रजिअ यादवले बताए।

वैशाख १३ गते १ जना, १५ गते १ जना, २१ गते २ जना , २२ गते २ जनाको मृत्यु भएको हो।

यसैगरी २३ गते ५ जना, २४ गते १ जना, २५ गते ४ जना, २६ गते २ जना, २७ गते ४ जना,२८ गते ३ जना र २९ गते १ जना गरी २६ जनाको ज्यान गएको उनले जानकारी दिए। ज्यान जानेमा १० वर्षीय बालकदेखि ७० वर्षका वृद्धसमेत छन्।

बुधबार मात्रै रौतहटमा ५९ जनाका कोभिड संक्रमण देखिएको छ। पिसिआर परीक्षणमा ५२ जना र एन्टिजेनमा ७ जना गरी ५९ जनाका संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

रौतहटमा ५ सय ४९ जनामा कोभिड १९ संक्रमण देखिएको छ जसमध्ये ५१ जना निको भएका छन। संक्रमित अधिकांश होम आइसोलेसनमा छन्।

यता, रौतहटमा कोरोना महामारीलाई मध्यनजर गर्दै मुस्लिम समुदायको महान पर्व इदुल फित्र (ईद) स्वास्थ्य मापदण्डको परिधिभित्र रहेर मनाउने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको उपस्थितिमा मुस्लिम समुदायको धर्मगुरु, अगुवाबीच भएको छलफलले सो निर्णय गरेको हो।

सो छलफलमा बढिरहेको कोरोना संक्रमणलाई मध्यनजर गर्दै इद मनाउने क्रममा पढिने नवाज मस्जिद, मदरसा, इदगाहा, मोख्तवमा बाहिरी सर्वसाधरणको उपस्थिति बिना त्यहीँ बस्ने मौलवीद्धारा मात्र पढ्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए।

यसैबीच जिल्ला प्रशासन कार्यालय रौतहटले आउँदो जेठ १ गतेदेखि पूर्ण रूपमा जिल्लाभित्र लकडाउन गर्ने भएको छ। दैनिक रुपमा संक्रमित बढ्न थालेको र मृत्युदर पनि बढ्न थालेपछि प्रशासनले लकडाउनलाइ कडाइ गर्न थालेको हो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here